काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव फेला परेको छ । यसअघि सोही सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो ।
आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीले खोजी तथा उद्धारका क्रममा सुरुङबाट एउटा शव बाहिर निकालेका हुन् । शवको पहिचान भने हुन बाँकी रहेको उनले बताए ।
सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको टोली परिचालित छ । टोलीले यसअघि विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई जीवितै उद्धार गरेको थियो ।
उद्धार गरिएका साह र महर्जनको काठमाडौँस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको भूमिगत विद्युत् गृहमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ । तीमध्ये अधिकांश विद्युत् गृहभित्रै रहेको हुनसक्ने अनुमान छ ।
भूमिगत विद्युत् गृह क्षेत्रमा अझै मानिसहरू फसेको हुनसक्ने आशंकामा उद्धार टोलीले खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ ।



















