काठमाडौँ । संखुवासभाको मकालु गाउँपालिका–१ मा भरुवा बन्दुकको गोली लागेर एक शिक्षकको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
बिहीबार साँझ करिब ७ बजे मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा घटना भएको प्रहरीले जनाएको छ ।
सिलिचोङ गाउँपालिका–५ याफु घर भई सोही विद्यालयमा बस्दै आएका करिब ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राई खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाहिर निस्किएका थिए । त्यसै क्रममा अचानक बन्दुक पड्किएको आवाज आएको थियो ।
आवाज सुनेपछि विद्यालयमै बस्दै आएकी शिक्षिका टिकामाया राई बाहिर निस्किएर हेर्दा नरकुबिर ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पारेकी थिइन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरको पछाडिको भागमा भरुवा बन्दुकको गोली लागेको चोट फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान गर्ने क्रममा प्रहरीले शुक्रबार बिहान करिब ११ बजे मकालु गाउँपालिका–१ सिउँडीबारीका करिब ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















