काठमाडौं । रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ।
खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट दुई जनाको शव निकालेको आयोजनाका प्रबन्धक विजयमान भट्टराईले जानकारी दिए।
उनका अनुसार अहिले हाइड्रो–मेकानिकल इन्जिनियरसहितको प्राविधिक टोली सुरुङभित्र करिब १५० मिटर भित्रसम्म पुगेर खोजी तथा उद्धारमा जुटिरहेको छ।
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको प्राविधिक टोली परिचालन गरिएको भट्टराईले बताए।
बुधबार पनि उद्धार टोली सुरुङभित्र करिब १५० मिटरसम्म पुगेर खोजी गरेको थियो। बिहीबार बिहानैदेखि खोज तथा उद्धार कार्यलाई थप तीव्रता दिइएको उनले जानकारी दिए।
बाढीका कारण सुरुङभित्र ठूलो मात्रामा गेग्रान तथा अन्य अवरोध रहेकाले उद्धार टोलीले आवश्यक उपकरणसहित खोजी कार्य जारी राखेको जनाइएको छ।




















