काठमाडौं । काठमाडौंबाट मुग्लिनतर्फ जाने सवारी साधनका लागि नागढुंगा सुरुङमार्ग खुला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका सवारी साधन र दुईपाङ्ग्रे सवारीबाहेक अन्य सवारीलाई सुरुङमार्गबाट आवतजावत गर्न दिइएको हो।
नागढुंगा–पातले वन क्षेत्रमा सडक भासिएपछि उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको थियो। त्यसपछि वैकल्पिक व्यवस्थास्वरूप सुरुङमार्ग सञ्चालनमा ल्याइएको हो।
सडक विभागका अनुसार पेट्रोलियम पदार्थ बोकेका सवारी साधन र मोटरसाइकललाई भने सडक भासिएको स्थानबाटै एकतर्फी रूपमा आवतजावतको व्यवस्था मिलाइएको छ।
भासिएको सडकको प्राविधिक अध्ययनपछि मात्रै मर्मतको काम अघि बढाइने विभागले जनाएको छ। अध्ययन र मर्मतको अवस्थाका आधारमा सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा आवश्यक निर्णय गरिने विभागको भनाइ छ।



















