काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण आसपासका क्षेत्रमा ठूलो मात्रामा हिलो र लेदो जमेर करिब ५–६ फिटसम्म जमेको अवस्था सिर्जना भएको छ। जसका कारण प्रभावित नागरिकहरूको आवतजावत अत्यन्तै कष्टकर बनेको छ भने राहत तथा स्वास्थ्य सामग्री पुर्याउन र आपतकालीन उद्धारमा समेत ठूलो चुनौती देखिएको छ।
यस्तो विषम परिस्थितिमा प्रभावित नागरिकसम्म राहत, स्वास्थ्य सामग्री तथा आवश्यक सेवा तत्काल पुर्याउन र आवतजावतलाई केही सहज बनाउन बागमती प्रदेश सरकारले बिदुर र त्रिशूली जोड्ने त्रिशूली नदीमा तुइन निर्माण तथा सञ्चालनको काम तीव्र रूपमा अघि बढाइरहेको छ।
आजबाट सञ्चालनमा आउने यस तुइनमार्फत राहत तथा स्वास्थ्य सामग्री ओसारपसार गर्नुका साथै गर्भवती महिला, घाइते तथा अन्य आपतकालीन अवस्थाका नागरिकहरूको उद्धारमा महत्वपूर्ण सहयोग पुग्ने छ ।




















