काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका शर्मा गोरखातर्फ पर्ने त्रिशूली नदीको किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार त्रिशूली नदीको तटीय क्षेत्रमा शर्माको शव फेला परेको हो।
भन्सार अधिकृत शर्मा हुम्लाको ताजाकोट गाउँपालिका–२ निवासी हुन्। शवको पोष्टमार्टम सम्पन्न भएपछि परिवारले शव बुझेको प्रहरीले जनाएको छ।
भोटेकोशी बाढीपछि त्रिशूली नदी हुँदै विभिन्न क्षेत्रमा शवहरू फेला पर्ने क्रम जारी रहेको छ। गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा मात्रै हालसम्म ६५ जनाको शव फेला परेको जनाइएको छ।



















