चितवन । रसुवाको भीषण बाढीले बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा लुछेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
चितवन प्रहरीले बिहीबार दिउँसो दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवलपरासीको विनयी त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका–५ चाँदबेला घर भई भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको हो।
बाढीले बगाएर ल्याएको शवबाट कानको सुनको मुन्द्रा तानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।




















