काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुगेको छ।
नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी पर्यटकसँग सम्पर्क स्थापित हुन नसकेको जनाएको हो।
बोर्डका अनुसार सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै १७८ जना भारतीय पर्यटक रहेका छन्। यस्तै १२७ जना नेपाली पर्यटकसँग पनि सम्पर्क हुन सकेको छैन।
अमेरिकाका ६५ जना र युक्रेनका ५३ जना पर्यटक सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ। त्यस्तै मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटकसँग सम्पर्क हुन सकेको छैन।
सिंगापुरका नौ, रुस र जर्मनीका आठ–आठ जना तथा लात्भिया र दक्षिण अफ्रिकाका छ–छ जना पर्यटक पनि सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बोर्डले ट्राभल एजेन्सी तथा विभिन्न पर्यटन कम्पनीमार्फत पर्यटकको विवरण संकलन गरिरहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन पर्यटकको संख्या तथा अवस्थाबारे थप विवरण आउने क्रम जारी रहेको बताइएको छ।




















