काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी अहिलेसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङका विभिन्न स्थानमा सात जनाको शव फेला परेको हो।
रेग्मीका अनुसार नुवाकोटको नदी किनारबाट तीन जना र धादिङबाट चार जनाको शव फेला परेको छ।
उनले भने, ‘अहिलेसम्म सात वटा शव फेला परेको छ।’
बाढी प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा फेला परेका शव संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। बाढीका कारण केही मानिस बेपत्ता भएको सूचना समेत प्राप्त भइरहेकाले उनीहरूको खोजी कार्यलाई पनि निरन्तरता दिइएको छ।
प्रहरीका अनुसार बाढी प्रभावित तथा नदी तटीय क्षेत्रमा खोज तथा उद्धारका लागि सुरक्षा निकायका टोली परिचालन गरिएको छ। पछिल्लो अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।



















