काठमाडौं । रसुवामा आएको बाढीबाट उत्पन्न हुन सक्ने मानवीय तथा अन्य जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले उद्धार तथा उपचारका लागि आवश्यक तयारी तीव्र पारेको छ। नेपाल एपीएफ अस्पतालमा एक सय शय्या र स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आवश्यक परेका बेला तत्काल परिचालन गर्न कीर्तिपुरस्थित दंगा नियन्त्रण रेजिमेन्टबाट तीन प्लाटुन सुरक्षाकर्मीलाई काठमाडौंस्थित विमानस्थलमा तयारी अवस्थामा राखिएको छ।
त्यस्तै, सशस्त्र प्रहरीको २० नम्बर विपद् उद्धार उपत्यका गणबाट ४५ जनाको विशेष टोली नुवाकोटतर्फ पठाइएको छ। उक्त टोलीले आवश्यकताअनुसार उद्धार तथा राहत कार्यमा सहयोग गर्ने जनाइएको छ।
सशस्त्र प्रहरीले रसुवा बाढीको पछिल्लो क्षति तथा प्रभावित क्षेत्रको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जनाएको छ। प्राप्त हुने विवरणका आधारमा थप जनशक्ति तथा आवश्यक स्रोत–साधन परिचालन गरिने बताइएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र उपचारलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको छ।



















