हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग छलफल थालेका छन्।
एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बने पनि सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने भएपछि राप्रपाको समर्थन जुटाउन दुवै दल सक्रिय भएका हुन्।
११० सदस्यीय बागमती प्रदेश सभामा हाल ६ पद रिक्त रहेकाले १०४ जना सदस्य कायम छन्। नयाँ सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेश सभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।
एमालेका २५ र नेकपाका २६ सांसद जोड्दा ५१ सांसदको समर्थन मात्रै पुग्छ, जुन सरकार गठनका लागि आवश्यक बहुमतभन्दा दुई सांसद कम हो। यस्तो अवस्थामा राप्रपाको समर्थन सत्ता समीकरणका लागि निर्णायक बन्ने देखिएको छ।
एमाले–नेकपा गठबन्धनले राप्रपाका १२ सांसदको समर्थन पाएमा ६३ सांसदको समर्थन पुग्नेछ। यही कारण दुवै दलले राप्रपासँग संवाद तीव्र बनाएका छन्।
राप्रपाले भने तत्काल सरकारमा सहभागी नहुने संकेत गरेको छ। यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकारमा सहभागी हुने विषयलाई प्राथमिकतामा नराखिएको बताएका थिए।
तर राप्रपाले सरकारलाई समर्थन गर्ने, तर सरकारमा सहभागी नहुने विकल्पमा छलफल गरिरहेको एक सांसदले बताएका छन्। यस विषयमा एमाले र नेकपाका नेतासँग संवाद भइरहेको र छलफलमा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा सहभागी रहेको बताइएको छ।
यसैबीच एमालेले बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय गरिसकेको छ। मंगलबार बसेको एमाले संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।
राप्रपाको समर्थन सुनिश्चित भएमा आजै मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी रहेको एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयले जनाएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो। विश्वासको मत लिने प्रक्रिया सुरु गरेकै क्रममा उनले राजीनामाको घोषणा गरेका थिए।
त्यसपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।
मुख्यमन्त्री पदका लागि दाबी पेश गर्ने समय बिहीबार अपराह्न ४ बजेसम्म तोकिएको छ।




















