काठमाडौँ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ। उनको ९३ वर्षको उमेरमा गएराति निधन भएको हो।
नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरका अनुसार श्रेष्ठको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।
श्रेष्ठ पछिल्लो ६ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए। उनले नेपाल भाषाका साथै नेपाली भाषामा पनि कविता, गीतलगायत विभिन्न विधामा कलम चलाएका थिए।
नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’को उपाधिबाट सम्मानित गरेको थियो। उनका नेपाल भाषामा एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्।
नेपाल भाषा र नेपाली साहित्यको क्षेत्रमा श्रेष्ठको योगदानलाई महत्वपूर्ण मानिन्छ।
यसैवीच जनकवि श्रेष्ठको निधनप्रति नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जामार्फत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन् –
“नेपाली साहित्यका प्रखर सर्जक, जनकवि दुर्गालाल श्रेष्ठको निधनको खबरले मर्माहत बनाएको छ।
’फूलको आँखामा फूलै संसार-काँडाको आँखामा काँडै संसार’ र ‘सयथरी बाजा एउटै ताल-सयथरी गोडा एउटै चाल’ जस्ता सयौं कालजयी रचनामार्फत उहाँले हाम्रो मनमा कहिल्यै नमेटिने छाप छाड्नुभएको छ। उहाँ अब भौतिक रूपमा हामीमाझ नरहे पनि उहाँका अमर गीत र कविताहरू सधैँ गुञ्जीरहनेछन् ।
काव्य कला क्षेत्रमा उहाँले पुऱ्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै जनकवि दुर्गालाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
शोकाकुल परिवारजन तथा साहित्यानुरागीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु।”




















