काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिएको छ।
महासंघले श्रेष्ठको तत्काल रिहाइको माग गर्दै बिहीबार प्रहरी परिसरअगाडि धर्ना दिएको हो। प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेको छ।
महासंघको नेतृत्वमा पत्रकार तथा सञ्चारकर्मीहरूले प्रहरी परिसरअगाडि प्रदर्शन गर्दै श्रेष्ठको विनाशर्त रिहाइको माग गरेका थिए। प्रदर्शनकारीले ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ र ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइ गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ।
समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा पत्रकारलाई नै पक्राउ गरी हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने महासंघको भनाइ छ।
महासंघले पत्रकारहरूले निर्भीक रूपमा समाचार लेख्न तथा प्रकाशित गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।




















