काठमाडौँ । माइतीघर मण्डलामा लघुवित्तपीडित आन्दोलनमा सहभागी एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। करिब ४५ वर्षीय ती पुरुषले बुधबार शरीरमा मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरेका हुन्।
उनले शरीरमा आगो लगाउन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएर घटना रोक्न सफल भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
घटनापछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
यसअघि बुधबार नै धनुषा जिल्ला अदालतको मुख्य गेटअगाडि एक मिटरब्याजपीडित महिलाले पनि आत्मदाहको प्रयास गरेकी थिइन्। जनकपुरधाम उपमहानगरपालिका–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन्।
मिटरब्याजसम्बन्धी मुद्दामा हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेका बेला पीडितहरू अदालत परिसरमा प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनका क्रममा अदालतको मुख्य गेटअगाडि पुगेकी रजकले साहद्वयलाई कारबाही गर्नुपर्ने माग गर्दै शरीरमा पेट्रोल छर्किएकी थिइन्।
शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल हस्तक्षेप गरी उनलाई उद्धार गरेको थियो।
घटनापछि धनुषा जिल्ला अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
एकै दिन काठमाडौं र धनुषामा ऋण तथा वित्तीय समस्याबाट पीडितहरूले आत्मदाहको प्रयास गरेपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ।




















