वीरगञ्ज । पर्सामा मादक पदार्थ सेवन गरेका चालकले चलाएको भारतीय ग्यास ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटना गएराति करिब ८ बजे वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडक खण्डमा भएको हो। पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको ना.२ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको आरजे.१४ जीई ८७१० नम्बरको भारतीय ग्यास ट्यांकरले पछाडिबाट ठक्कर दिएको थियो।
ठक्कर दिएपछि ट्यांकर चालक घटनास्थलबाट फरार भएका थिए। दुर्घटनामा ई–रिक्सामा सवार ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम छ।
घाइते सबैलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
दुर्घटनापछि फरार भएका ट्यांकर चालक भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्ला, साहेबगञ्ज निवासी अन्दाजी ४८ वर्षीय धनेश्वर रायलाई प्रहरीले पक्राउ गरेको छ। स्वास्थ्य परीक्षणका क्रममा उनले मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।




















