काठमाडौं । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति आवेदन खुला गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिने जनाएको हो । इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११ः५९ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
महानगरका अनुसार विद्यार्थीहरूले काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट मार्फत फाराम भर्न सक्नेछन् । छात्रवृत्तिसम्बन्धी विषयगत अङ्कभार, विद्यालयअनुसारको कोटा तथा परीक्षा केन्द्रलगायतका विस्तृत विवरण वेबसाइटमा उपलब्ध गराइएको छ ।
छात्रवृत्ति छनोट परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा माध्यमिक तह अर्थात् कक्षा १० को पाठ्यक्रममा आधारित हुने र त्यसमा १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने महानगरले जनाएको छ ।
महानगरपालिकाले शिक्षा ऐन तथा कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन गरेसँगै छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको जनाएको छ ।
महानगरका अनुसार गत शैक्षिक सत्र २०८२ मा मात्रै संस्थागत विद्यालयका २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति सुविधा पाएका थिए । त्यसमध्ये कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ गरी कुल २० हजार २८२ विद्यार्थी लाभान्वित भएका थिए ।



















