काठमाडौं । विश्व सम्पदा सुचिमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रको जंगलमा आइतबार बिहान तीनवटा शंकास्पद ग्रिनेट फेला परेका छन्।
पशुपतिस्थित राम मन्दिरभन्दा माथिको जंगल क्षेत्रमा बमजस्तो वस्तु देखिएपछि स्थानीयले बिहान महानगरीय प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको नेपाल प्रहरी र नेपाली सेनाको टोलीले ती वस्तु सुरक्षित रूपमा संकलन गरी परीक्षणका लागि नेपाली सेनाले परीक्षणका लागि लगेको छ ।
काठमाडौं प्रहरी परिसरका डिएसपी कौशल बुढाथोकीका अनुसार फेला परेका वस्तु प्लास्टिकका ग्रिनेट हुन्। प्रारम्भिक अनुसन्धानबाट ती नयाँ नभई पुराना रहेको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ती ग्रिनेट करिब तीनदेखि चार महिनाअघि नै उक्त क्षेत्रमा राखिएको हुनसक्ने अनुमान गरिएको छ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी हुँदा केही ग्रिनेट, हतियार, पोशाकलगायत विभिन्न सामग्री लुटिएका थिए। सोही घटनामा लुटिएको ग्रिनेट पनि हुनसक्ने प्रहरीको अनुमान छ।
यद्यपि, यसको आधिकारिक पुष्टि भने नेपाली सेनाको प्रयोगशालामा परीक्षण गरिएपछि मात्रै हुने उनले जानकारी दिए।




















