काठमाडौं । शिक्षा मन्त्रालयले आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिको प्रक्रिया शुरु गरेको छ ।
मन्त्रालयले गठन गरेको उपकुलपति छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।
समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरेकोछ ।
आजको मितिबाट १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेस गर्नुपर्ने छ ।
सरकारले जारी गरेको अध्यादेशमार्फत् यी विश्वविद्यालयहरुका पदाधिकारी पदमुक्त भएका थिए ।
रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित नाम छनोट तथा सिफारिस समितिले यही वैशाख २४ गते स्वीकृत गरेको एकीकृत कार्यविधि मन्त्रालयको वेबसाइटमा राखिएको जनाएको छ ।




















