
काठमाडौं । विपद् व्यवस्थापन सम्बन्धी भइरहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि एवम् सरोकारवाला निकायहरूबिच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी निकाय, राष्ट्रिय तथा नेपालस्थित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको सहभागितामा सञ्चालन भएको अभ्यास हातेमालोको आठौँ संस्करण शुभारम्भ भएको छ । सोमबार युद्धकार्य महानिर्देशक उपरथी अनुप जङ्ग थापाले शुभारम्भ गरेका हुन ।
नेपाली सेनाको समन्वय र गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाले आ.व. २०७५/०७६ मा अभ्यास हातेमालो–१ प्रदेश तहमा सञ्चालन गरेको थियो । तत्पश्चात जङ्गी अड्डामा वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस अभ्यास मनसुनको समयमा हुन सक्ने सम्भावित बाढी र पहिरोको परिदृश्यमा आधारित रही तीन दिनसम्म सञ्चालन हुनेछ र क्रमिक रूपमा प्रादेशिक र जिल्ला स्तरसम्म सञ्चालन गर्ने योजना रहेको बताइएको छ ।
कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालय, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु र नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।




















