काठमाडौं । तनहुँबाट गएराति हराएको एक गाडी काठमाडौंको कुलेश्वरबाट फेला परेको छ। प्रहरीले गाडीसहित एक युवकलाई पक्राउ गरेको जनाएको छ।
मंगलबार राति करिब पौने १२ बजे बन्दिपुर गाउँपालिका–४ सानो डुम्रेस्थित मुस्ताङ प्लाजा होटल अगाडि पार्किङमा राखिएको ग.२ च ७७९३ नम्बरको गाडी हराएको थियो।
उक्त गाडी बुधबार बिहान करिब पौने ९ बजे कुलेश्वरस्थित सकिल अटो वर्कसपमा पार्किङ अवस्थामा प्रहरी वृत्त कालिमाटीको टोलीले फेला पारेको हो।
गाडीसँगै दाङको तुलसीपुर उपमहानगरपालिका–६ निवासी २८ वर्षीय बिपिन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उक्त गाडी गोरखाको पालुङटार नगरपालिका–७ स्थित पालुङ पोल्टि फिसर फार्मको नाममा दर्ता रहेको पाइएको छ।
गाडीसहित पक्राउ परेका मगरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि तनहुँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। तनहुँ प्रहरीले बिहान जानकारी गराएपछि काठमाडौं प्रहरीले खोजी तथा अनुसन्धान तीव्र पारेको थियो।



















