काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कम्तीमा २१ निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय व्यहोरेको निष्कर्ष निकालेको छ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा भएको समीक्षाबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हार भएका क्षेत्रहरूमा मुख्यत: आन्तरिक कारण नै जिम्मेवार रहेको बताए।
उनका अनुसार ३ हजारदेखि ५ हजारसम्मको मतान्तरमा हार भएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै चुनावी अभियानमा कमजोरी देखिएको छ। त्यस्तै ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा अन्तर्घात, कमजोर क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको निष्कर्ष निकालिएको छ।
चालिसेले परम्परागत मत कसरी स्थानान्तरण भयो भन्ने विषयमा पार्टीले गम्भीर समीक्षा गरिरहेको बताए। उनले मतको मात्र स्थानान्तरण भएको हो कि मतदाताको सोचमै परिवर्तन आएको हो भन्ने विषय पनि अध्ययन भइरहेको उल्लेख गरे।
केही क्षेत्रमा संगठनात्मक कमजोरीसँगै कांग्रेसप्रति मतदाताको विश्वासमा कमी आएको संकेत पनि देखिएको उनले बताए। ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भए पनि अपेक्षित मत नआउनु गम्भीर प्रश्न बनेको उनको भनाइ छ।
हाल जारी केन्द्रीय समिति बैठकमा निर्वाचन समीक्षा र सभापतिको राजीनामा विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। बैठकले पार्टीलाई पुनः सशक्त बनाउँदै जनतामाझ लैजाने कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।




















