काठमाडौं । नेपाली कांग्रेसले आज (शुक्रबार) एकैदिन तीन जिल्लामा चुनावी सभा आयोजना गर्ने भएको छ। पार्टीले रूपन्देही, बागलुङ र कास्कीमा चुनावी कार्यक्रम गर्न लागेको हो।
तीनै सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा सहितका शीर्ष नेताहरू सहभागी हुनेछन्। पार्टीका अनुसार बिहान ११ बजे रूपन्देहीको बुटवलमा पहिलो सभा हुनेछ।
त्यसपछि दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे कास्कीको पोखरामा चुनावी सभा आयोजना गरिनेछ। ती सभाहरूमा अन्य दलका नेता–कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउने कार्यक्रम पनि समेटिएको पार्टीले जनाएको छ।
यसअघि बिहीबार सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। सुर्खेतको सभामा उपसभापति पुष्पा भुसाल पनि सहभागी भएकी थिइन्।



















