काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा राणाले पार्टीभित्र देखिएका बेथितिप्रति असन्तुष्टि जनाउँदै अब पार्टीमै बसेर मुकदर्शक बन्न नसक्ने उल्लेख गरेका छन्।
‘सबै बेथितिका बाबजुद पनि चुप लागेर पार्टीमै रहन मेरो विवेक र इमानले मानेन। त्यसैले आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु,’ उनले पत्रमा लेखेका छन्।
पार्टीको आन्तरिक अभ्यासप्रति प्रश्न उठाउँदै उनले सही ढंगले अभ्यास नगर्ने पार्टीले भोलि सरकारमा गएर राम्रो काम गर्छ भन्ने विश्वास आफूलाई नभएको बताएका छन्। साथै उनले अन्धभक्ति गर्न नचाहेको पनि स्पष्ट पारेका छन्।
काठमाडौं–५ बाट यसअघि उम्मेदवार बनेका र यसपटक पनि छनोट प्रक्रियामा सहभागी राणा पछिल्लो समय प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले सञ्चालन गरेको ‘प्राइमरी इलेक्सन’ प्रक्रियाप्रति असन्तुष्ट थिए। प्राइमरी चुनावमा सुरुदेखि नै चलखेलको सम्भावना राखिएको र पछि विशेष परिस्थितिको नाममा संगठनको नेतृत्व छान्ने अधिकार समेत खोसिएको उनको आरोप छ।
उनले पार्टी सदस्यताका नाममा उठाइएको रकमप्रति पनि प्रश्न उठाएका छन्। ‘एक हजार रुपैयाँ सदस्यता शुल्कबाट ३०० पालिकामा रकम पुग्ने भनिएको थियो, तर त्यो कहिल्यै आएन। प्राइमरीको प्रक्रिया मात्र होइन, त्यसका लागि उठाइएको ठूलो रकममा समेत आर्थिक अपारदर्शिता र सम्भावित अपचलन देखियो,’ उनले पत्रमा उल्लेख गरेका छन्।
पार्टी स्थापनाकालीन नारा ‘बेथितिको अन्त्य, थितिको थालनी’ ठीक उल्टो दिशातर्फ गएको भन्दै उनले अहिलेको अवस्था ‘थितिको अन्त्य, बेथितिको थालनी’ जस्तै भएको टिप्पणी गरेका छन्। केन्द्रमा रहेका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू यस्ता बेथितिका साझेदार बनेको उनको आरोप छ।
‘अरू धेरै नेताहरू अचम्मलाग्दो ढंगले मौन छन्। सीमित केही बोल्ने साथीहरूको अवस्था आम नेपालीले देखिसकेका छन्,’ राणाले भनेका छन्, ‘सुशासन, जवाफदेहिता र आर्थिक पारदर्शिता अहिले पार्टीका नारामा मात्र सीमित भएका छन्, व्यवहारमा देखिँदैनन्।’




















