काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका डा. श्रीबहादुर कुँवरले पार्टी परित्याग गरेका छन्।
पार्टीले प्राइमरी इलेक्सन (प्रारम्भिक निर्वाचन) नगरी उम्मेदवार छनोट गरेको भन्दै उनले रास्वपा छाडेको बताएका छन्। रुपन्देही–१ बाट कुँवरसहित ६ जना उम्मेदवार आकांक्षी थिए। तर पार्टीले प्राइमरी इलेक्सन नगरी सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो। लम्साल काठमाडौं महानगरका मेयर बालेन शाहको कार्यकालमा सल्लाहकारको भूमिकामा रहेका व्यक्ति हुन्।
कुँवरका अनुसार उम्मेदवार आकांक्षीबाट प्रति व्यक्ति २५ हजार रुपैयाँ लिएर पनि प्राइमरी इलेक्सन नगर्नु पार्टीको भ्रष्टाचारको नयाँ शैली हो। समानुपातिकतर्फ नाम राखिदिने भन्दै ५० हजार र प्रत्यक्षतर्फ २५ हजार रुपैयाँ लिने व्यवस्था गलत भएको उनले आरोप लगाए।
उनले भने, ‘म अमेरिकामा बसोबास गरिरहेको थिएँ। रास्वपाका केही नेताको आग्रहमा दुई लाख रुपैयाँ खर्च गरेर नेपाल आएँ र उम्मेदवार सिफारिस पनि भएँ। प्राइमरी इलेक्सन हुन्छ भन्ने विश्वास थियो, तर त्यो प्रक्रिया नै लागू गरिएन।’
कुँवरले रास्वपाले विदेशमा बस्ने नेपालीहरूको भावनामा खेलवाड गरेको आरोप लगाउँदै अब कुनै पनि हालतमा पार्टीमा नफर्किने बताए।
यसअघि रास्वपाका नेता प्रणयशमशेर राणाले पनि पार्टीले प्रारम्भिक निर्वाचनको नाममा आर्थिक अपारदर्शिता गरेको आरोप लगाएका थिए। काठमाडौं–५ बाट यसअघि उम्मेदवार बनेका र यसपटक पनि छनोट प्रक्रियामा सहभागी राणाले प्रारम्भिक मतदानको विधि अनुसार उम्मेदवार छनोट नभएकाले शुल्क फिर्ता गर्न माग गरेका छन्।
राणाले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत पार्टीले तोकेको प्रारम्भिक मतदानको विधि उल्लंघन गरिएको दाबी गरेका हुन्। उनका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार हुन इच्छुकबाट २५ हजार र समानुपातिकतर्फ समावेश गरिने भन्दै ५० हजार रुपैयाँ शुल्क लिइएको थियो।
राणाले विधानअनुसार प्रारम्भिक मतदानबाट प्राप्त मत नै अन्तिम हुनुपर्नेमा पार्टीले ५० प्रतिशत मतभार मात्र तोकेर विधि नै कमजोर बनाएको बताए। ‘संसारभर जहाँ प्राइमरी चुनाव हुन्छ, त्यहाँ मतदानकै आधारमा उम्मेदवार छनोट हुन्छ,’ उनले भने।
उनले पार्टीभित्र व्यक्तिवादी चरित्र र विधि विपरीतको अभ्यास देखिएको आरोप लगाउँदै शुल्क फिर्ता गर्नुपर्ने माग गरेका छन्।




















