सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या प्रकरणमा उनकी सासू मायाँरानी बम्जन र नन्द मीना लामा पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले आइतबार दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशपछि उनीहरूलाई सिन्धुली कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गत पुस ६ गते सुशीलालाई आफ्नै घरमा पेट्रोल छर्की आगो लगाएर हत्या गरिएको आरोपमा मायाँरानी र मीना पक्राउ परेका थिए। अनुसन्धानपछि प्रहरीले माघ २ गते उनीहरूलाई अदालत पेस गरेको थियो।
घटनामा संलग्न भनिएका ससुरा दुर्गामान बम्जन उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रहेकाले पक्राउ गरिएको छैन। मुख्य योजनाकार भनिएका श्रीमान् सूर्यबहादुर बम्जन भने हाल विदेशमै रहेकाले उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ।
प्रहरीले अभियुक्तहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।




















