काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्।
आइतबार उनले उपमेयर सुनिता डंगोलसमक्ष लिखित रूपमा राजीनामा बुझाएका हुन्। प्रचलित कानुनी व्यवस्थाअनुसार स्थानीय तहका प्रमुखले उपप्रमुखसमक्ष राजीनामा दिने व्यवस्था रहेको छ।
शाहले आजकै मितिबाट लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको कुरा राजीनामा पत्रमा उल्लेख गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने तयारीका कारण उनले मेयर पदबाट राजीनामा दिएका हुन्।
राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्, “नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम, म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२/१०/०४ गतेदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु।”
मेयरका रूपमा आफ्नो कार्यकालमा नगर र नगरवासीको हितमा काम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा महानगरको नेतृत्व सफलतापूर्वक सम्हाल्न उपमेयर डंगोललाई शुभकामना दिएका छन्। राजीनामा पत्रमा उनले भनेका छन्, “अबका दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रालाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने कार्यमा सफलता मिलोस् भन्ने कामना गर्दै तपाईं तथा नगर कार्यपालिकालाई शुभेच्छा व्यक्त गर्दछु।”





















