काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने तयारीमा छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा समूहले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको हो। “हामी आज रिट लिएर सर्वोच्च जाने तयारीमा छौँ,” उनले बताए।
शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी दुवै रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार कानुनी प्रक्रियाको जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ।
खड्का हाल रिट तयारीका लागि कानुन व्यवसायीहरूसँग छलफलमा छन्। स्रोतका अनुसार वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायत कानुन व्यवसायीहरूले कानुनी परामर्श दिइरहेका छन्।
गगन थापा–विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ, जसबाट गगन थापा सभापतिमा निर्वाचित भएका छन्।
तर देउवा पक्षले भने नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै उक्त महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ।




















