काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता विवादका सम्बन्धमा निर्वाचन आयोगले संविधान, ऐन र कानुनको परिधिभित्र रहेर विधिसम्मत निर्णय गर्ने स्पष्ट पारेका छन्।
आधिकारिकता दाबी गर्दै कागजात बुझाउन आयोग पुगेको देउवा पक्षको टोलीसँगको भेटमा भण्डारीले आयोगले कुनै पनि निर्णय विधि र प्रक्रियाबाहिर नगर्ने बताएका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुगेको टोलीले कांग्रेसको वैधानिकतामा कुनै विवाद नरहेको र ‘विशेष महाधिवेशन’का नाममा भएका गतिविधिलाई पार्टीले नचिन्ने भन्दै आयोगको ध्यानाकर्षण गराएको थियो।
जवाफमा भण्डारीले भने, “निर्वाचन आयोगले संविधान, ऐन र कानुनको दायराभित्र रहेर विश्लेषण गर्छ। विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय गर्दैन। निर्वाचन कार्यतालिका अनुसारका प्रक्रियामा तपाईंहरू सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ।”
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा रहेको टोलीले निर्वाचन आयोग पुगेर विवरण अद्यावधिकका लागि निवेदन दिएको थियो। उक्त निवेदनमा आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको हस्ताक्षर रहनेलगायत विषय उल्लेख गरिएको छ।
गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंमा पुस अन्तिम साता विशेष महाधिवेशन सम्पन्न भएको थियो। उक्त महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको दाबी गरिएको छ। तर देउवा पक्षले सो महाधिवेशन अवैधानिक भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।




















