काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै पार्टीको आधिकारिक निकाय भएको दाबी गरेका छन्।
निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुगेका कोइरालाले विशेष महाधिवेशनको कार्यतालिका बनाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारे। उनले पार्टी विधानअनुसार कुनै पनि पदाधिकारी वा समूहलाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नरहेको बताए।
“सिङ्गो केन्द्रीय कार्यसमिति यहीँ छ, केही व्यक्ति मात्र अलग्गिएर गएका हुन्,” कोइरालाले भने, “विधानमा कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउने अधिकार छैन।”
उनले विशेष महाधिवेशनको माग गर्दै गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा आफूहरूले प्रमाणका रूपमा निर्वाचन आयोगमा बुझाएको दाबी पनि गरे।



















