काठमाडौँ । गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले देवराज चालिसेलाई पार्टीको प्रवक्ता नियुक्त गरेको छ।
बिहीबार ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एन्ड इभेन्ट्समा बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले चालिसेलाई प्रवक्तामा मनोनयन गर्ने निर्णय गरेको हो। केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार बैठकबाट चालिसेको नाम प्रवक्ताका रूपमा अनुमोदन गरिएको हो।
चालिसे विशेष महाधिवेशनको माग गर्दै अभियान सञ्चालन गर्ने कांग्रेस नेतामध्ये एक हुन्। हाल केन्द्रीय कार्यसमितिको बैठक कुपण्डोलमै जारी रहेको छ। बैठकले आगामी रणनीति तय गर्ने जनाइएको छ ।
कांग्रेस विभाजित भएपछि शेरबहादुर देउवा र गगन थापा नेतृत्वमा दुई वटा केन्द्रीय समिति बनेको छ । दुवै पक्षले आफू आधिकारिक भन्दै दावी गरिरहेका छन् । गगन आधिकारिकता दाबीसहित निर्वाचन आयोग जाने तयारीमा छन् ।




















