सिन्धुली । सिन्धुलीमा ठूलो परिमाणको अमेरिकी डलरसहित एक जना व्यक्ति पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोट क्षेत्रमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ५७ हजार अमेरिकी डलर (नेपाली करिब ८२ लाख रुपैयाँ बराबर) सहित युवराज नेवारलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको टाटा सुमो रोकि जाँच गर्दा सुमोमा सवार नेवारको कालो झोलाबाट १०० दरका ५७० थान अमेरिकी डलरका नोट र नेपाली १२ हजार रुपैयाँ फेला परेको हो।
घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि टाटा सुमोका चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
सिन्धुलीको घ्याङलेक–२ बस्तीपुरस्थित हायुटारमा रहेको नेपाल एसबीआई बैंकमा मंगलबार राति लुटपाट भएको घटनापछि प्रहरीले राजमार्गमा कडाइ गरेको थियो। सोही क्रममा चेकजाँच गर्दा अमेरिकी डलरसहित नेवार पक्राउ परेका हुन्।



















