काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले नै गर्ने विश्वास व्यक्त गरेका छन्।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसभित्र मतभेद चुलिएको छ। तर विशेष महाधिवेशन पक्षधरहरूले सभापति देउवा स्वयं कार्यक्रममा सहभागी हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधरको तर्फबाट बोल्दै नेता जगदीश्वरनरसिंह केसीले महामन्त्रीहरूले सभापति देउवालाई विशेष महाधिवेशनसम्बन्धी पत्र पठाइसकेको जानकारी दिए।
“सभापति देउवा आफैं उद्घाटन समारोहमा उपस्थित हुनुहुनेछ,” केसीले भने, “महामन्त्रीहरूले पत्र दिइसकेका छन्। उहाँ नै आएर विशेष महाधिवेशनको उद्घाटन गर्नुहुनेछ भन्नेमा हामी विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका सबै विश्वस्त छौँ।”
विशेष महाधिवेशनको उद्घाटन सत्र पुस २७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने बताइएको छ।



















