काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसभित्र चर्कँदै गएको महाधिवेशनसम्बन्धी विवादलाई नजिकबाट निगरानी गरिरहेको भए पनि त्यसमा हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले कांग्रेसको महाधिवेशन विवाद राजनीतिक दलको आन्तरिक विषय भएको बताएका हुन्।
उनले आयोगले आन्तरिक विषयमा अनावश्यक हस्तक्षेप नगर्ने नीति लिएको स्पष्ट गर्दै हालसम्म यसबारे कुनै औपचारिक धारणा नबनाएको जानकारी दिए।
“दलभित्रका आन्तरिक विषयमा धेरै हस्तक्षेप वा प्रवेश नगर्ने नीति लिएका कारण अहिलेसम्म आयोगले कुनै निष्कर्ष निकालेको छैन,” भट्टराईले भने, “राजनीतिक दलका गतिविधिलाई नजिकबाट नियाल्नु आयोगको जिम्मेवारी हो। हामीलाई थाहा छैन भन्ने अवस्था होइन, तर यो दलभित्रको लोकतन्त्रसँग सम्बन्धित विषय भएकाले आयोग प्रवेश गरिसकेको छैन।”
नेपाली कांग्रेसभित्र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि नियमित र विशेष महाधिवेशनको विषयमा विवाद चुलिँदै गएको छ। यसले पार्टी विभाजनको जोखिमसम्म देखिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।




















