काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदानका लागि जान कुनै पनि प्रकारको सुरक्षा जोखिमका कारण संकोच मान्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ।
सरकारले तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था अझै पर्याप्त रूपमा मिलाउन नसकेको भन्ने चर्चा भइरहेका बेला शुक्रबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगको तर्फबाट यस्तो धारणा सार्वजनिक गरेका हुन्।
प्रवक्ता भट्टराईका अनुसार निर्वाचन आयोगले सरकार तथा सम्बन्धित निकायसँग सहजीकरण गर्दै निर्वाचनका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था सुनिश्चित गर्ने काम अघि बढाइरहेको छ।
उनले सुरक्षाको कारण देखाउँदै निर्वाचनमा सहभागी हुन डराउनु पर्ने वा मतदान गर्न जान हिचकिचाउनु पर्ने अवस्था नरहेको दोहोर्याए।
“सुरक्षाका कारण निर्वाचनमा होमिन डराउनुपर्ने अथवा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था छैन,” भट्टराईले भने, “सुरक्षा निकाय र सम्बन्धित मन्त्रालयको नेतृत्वमा, आयोगको सहजीकरणमा निर्वाचनका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउने कार्य भइरहेको छ।”
यसका साथै प्रवक्ता भट्टराईले आगामी निर्वाचनमा बदर मतको संख्या घटाउन आवश्यक रणनीति तय गरी कार्यान्वयनमा जाने जानकारी पनि दिए।




















