काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई कुनै पनि राजनीतिक दलको आन्तरिक विवादमा आफूहरू प्रवेश नगर्ने स्पष्ट पारेको छ।
विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन आग्रह गर्दै पठाएको पत्रको जवाफमा आयोगले यस्तो धारणा व्यक्त गरेको हो।
विशेष महाधिवेशन पक्षधरले पुस १६ गते पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागका आधारमा विशेष महाधिवेशन गर्न–गराउन पार्टी नेतृत्वलाई निर्देशन दिनुपर्ने भन्दै निर्वाचन आयोगमा पत्र बुझाएका थिए। यस विषयमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि पार्टीको आन्तरिक विवादमा आयोग संलग्न नहुने बताएका छन्।
‘कुनै पनि पार्टीको अन्तरपार्टी संघर्षमा हामी प्रवेश गर्दैनौँ,’ भण्डारीले भने, ‘निर्वाचन आयोग पार्टीको आन्तरिक झगडाको रेकी गरेर बस्दैन। हामीकहाँ आएका विषय कानुनअनुसार हो कि होइन भन्ने मात्रै हेर्ने हो।’
यसैबीच, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको आह्वान गरेका छन्।
यता, पुस १८ गते बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।




















