काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई निर्वाचन आयोगले तत्काल मान्यता नदिएपछि कांग्रेसले मंगलबार ढिलो गरी बन्दसूची पेस गरेको हो। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साढे ११ बजेपछि पार्टीको तर्फबाट ११० जनाको नामावली आयोगमा बुझाएका कांग्रेस स्रोतले जनाएको छ।
निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय तोकेको थियो। कांग्रेसले यसपटक २०६४ सालदेखि समानुपातिक सांसद बनेकाहरूलाई बन्दसूचीमा समावेश गरेको छैन।
प्रदेशगत रूपमा कोसी प्रदेशबाट १८, मधेशबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १७, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० जना उम्मेदवार समेटिएका छन्।

























