
काठमाडौं । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रकाश राज थापालाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
यही पौष ०३ गते बढुवा भएका थापालाई मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दज्र्यानी चिन्ह प्रदान गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंङ्गी अड्डाले जनाएको छ ।
सोही अवसरमा प्रधान सेनापति सिग्देलले सहायक रथी दर्जामा पदोन्नति भएका २ जना महासेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेको बताइएको छ ।
महासेनानी विजय केसी र भीमशंकर वन सहायक रथीमा बढुवा भएका हुन् । केसी उपत्यका पृतनामा र वन सैनिक अभिलेखालयमा पदस्थापन भएका छन् ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीहरुको परिवारजनको उपस्थिति रहेको थियो ।
























