काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद भोलि दिउँसो १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको छ । मंसिर मसान्तभित्रै नवीकरण प्रक्रिया सक्ने भनिए पनि तोकिएको समयमा काम पूरा हुन नसकेपछि म्याद थप गर्ने सहमति भएको हो ।
महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि दिउँसो १२ बजे क्रियाशील सदस्यता वितरण प्रणाली लक गर्ने तयारी गरेको छ । समितिका सदस्य प्रकाश रसाइली स्नेहीका अनुसार नयाँ सदस्यता वितरणको काम पुस १० गतेसम्म गरिनेछ ।
नवीकरण र नयाँ वितरणको सम्पूर्ण प्रक्रिया टुंग्याएर पार्टी नेतृत्वलाई बुझाइने उनले जानकारी दिए । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
























