काठमाडौं । उच्च अदालत पाटन, ललितपुर परिसरमा आत्महत्याको प्रयास गरेकी करिब ३० वर्षीया महिलाको अवस्था गम्भीर रहेको र पाटन अस्पतालको आईसीयूमा उपचार जारी रहेको छ ।
प्रहरी स्रोतका अनुसार बिहीबार अदालत परिसरमै उनले किटनाशक विषादी सेवन गरेकी थिइन् । प्रहरीले तत्काल उद्धार गरी उनलाई पाटन अस्पताल पुर्याएको थियो, जहाँ हाल पनि उनको उपचार भइरहेको छ ।
स्रोतका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी रहेको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि ती महिलाले आत्महत्याको प्रयास गरेकी हुन् ।
यसअघि काठमाडौं जिल्ला अदालतले पनि सोही मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको थियो। पछि उच्च अदालत पाटनले समेत धरौटीमै रिहा गर्न आदेश दिएपछि उनी अदालत परिसरमै पुगेकी थिइन् ।

























