काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको आउँदो १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने चाहना रहेको सार्वजनिक गरेका छन्।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले पुसमा हुने महाधिवेशनमा आफू सभापति पदमा उठ्न इच्छुक रहेको जानकारी दिएका हुन्। साथै, आवश्यकताअनुसार पार्टीले जहाँ जिम्मेवारी तोक्छ, त्यहीअनुसार उभिन आफू तयार रहेको पनि स्पष्ट पारेका छन्।
उनले लेखेका छन्, “नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि निर्धारित छ। तर देश, जनता, प्रजातन्त्र र संगठनको आवश्यकता जसरी उभिन्छ, शून्यदेखि सयसम्म जहाँ आवश्यक पर्छ, त्यहीअनुसार अघि बढ्न म तयार छु। समय, साथीहरूको सुझाव र राजनीतिक परिवेशलाई सम्मान गर्दै कदम चाल्नुपर्छ।”
यसअघि कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। केन्द्रीय समितिले पारित कार्यतालिका अनुसार पुस १२ गतेसम्म सबै तहबाट आवश्यक विवरण केन्द्रमा पठाइसक्नुपर्नेछ।
पार्टीभित्र छोटो समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने दबाब बढिरहेका बेला नेताहरू क्रमशः आफ्नो दाबी सार्वजनिक गर्न थालेका छन्।























