काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना निर्माणका लागि ऋण सहायतासम्बन्धी सम्झौता सम्पन्न भएको छ।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार जापानले ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबरको ऋण उपलब्ध गराउने भएको छ ।
जाइकामार्फत प्राप्त हुने यस ऋणमा १० वर्षको ग्रेस अवधि, ३० वर्षको भुक्तानी अवधि तथा वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ। योजनाअन्तर्गत कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर र बीपी राजमार्ग हुँदै चल्ने सवारीको आवागमनलाई सहज बनाउँदै ट्राफिक जाम कम गर्ने अपेक्षा गरिएको छ। आयोजना सडक विभागमार्फत कार्यान्वयन हुनेछ।
ऋण सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोटमा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन् भने ऋण सम्झौतामा सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा अर्थमन्त्री खनाल, राजदूत तोरु र जाइका प्रमुख प्रतिनिधि माजुकीले सम्बोधन गर्दै नेपाल–जापान सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे। राजदूत तोरुले कोटेश्वर चोक सुधार आयोजना सम्पन्न भएपछि उपत्यकाको यातायात व्यवस्थामा उल्लेखनीय सुधार हुने विश्वास प्रकट गरे। अर्थमन्त्री खनालले पनि यो परियोजनाले काठमाडौं उपत्यकाको जामयुक्त क्षेत्रको दीर्घकालीन समाधानमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
























