काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडाका स्थानीयबासीका माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा आएको अवरोध हटेको छ ।
आइतबार बिहान नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेर मन्त्री घिसिङले स्थानीयसँग भेट गरेका थिए । उनले “१५ दिनभित्र उठाइएका माग सम्बोधन गर्ने” मौखिक आश्वासन दिएपछि स्थानीयले फोहोर फाल्न अनुमति दिएका हुन् ।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्रीको प्रतिबद्धतापछि रोकिएका फोहोर बोकेका गाडीहरू बञ्चरेडाँडा जान थालेका छन्।
गत केही दिनयता स्थानीयले फोहोर व्यवस्थापन वैज्ञानिक र दिगो रूपमा गर्नुपर्ने माग गर्दै फोहोर फाल्न रोकेका थिए। उनीहरूले २०७९ जेठ २६ मा काठमाडौं महानगरसँग भएको १८ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि दोहोर्याएका थिए । उक्त सहमतिमा फोहोर रातमा मात्र फाल्ने, दुर्गन्ध नियन्त्रण गर्ने, लिच्चड (फोहरको रस) नचुहिने व्यवस्था मिलाउने लगायतका प्रावधान छन् ।
ककनी गाउँपालिका–१ र २ तथा धुनबेसी नगरपालिका–१, २ र ३ का स्थानीयले सडकमा बसेर फोहोर बोकेका गाडीहरू फर्काएका थिए । उनीहरूले आफ्ना माग सम्बोधन गर्न काठमाडौं महानगरका मेयर बालेन शाह र सहरी विकासमन्त्री घिसिङ दुवै फिल्डमा आउनुपर्ने माग गरेका थिए ।
मेयर बालेन नगएपछि मन्त्री घिसिङ स्वयं आइतबार बिहान त्यहाँ पुगेका हुन् । उनको आश्वासन पछि अवरुद्ध फोहोर व्यवस्थापन कार्य अस्थायी रूपमा अर्थात १५ दिनका लागि सुचारु भएको छ ।

























