काठमाडौं । राजधानीका विभिन्न स्थानमा गलाको सुनको सिक्री चोरी र लुटपाट गर्दै आएका एक गिरोहका पाँच जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राज लामा (२८ वर्ष, हरिहरपुरगढी गाउँपालिका, सिन्धुली), दुर्गाबहादुर मगर (२० वर्ष, ताप्ली गाउँपालिका–४, उदयपुर), गोविन्द सुनार (४० वर्ष, लिखु तामाकोशी गाउँपालिका–६, रामेछाप), दिपेश रसाइली (२२ वर्ष, लम्कीचुहा नगरपालिका–७, कैलाली), दिलबहादुर (ठेगाना नखुलेको) रहेका छन्।
प्रहरीका अनुसार राज लामा मोटरसाइकल चालक र दुर्गाबहादुर मगर पछाडि बसेर सिक्री थुत्ने व्यक्ति हुन्। दिलबहादुर लुटिएको सिक्री बिक्री गरिदिने व्यक्ति हुन्, जसले भक्तपुर सल्लाघारीमा श्री लक्ष्मी ज्वेलर्स सञ्चालन गरेका छन्।
त्यस्तै, बुढानीलकण्ठस्थित कालिका ज्वेलर्सका सञ्चालक गोविन्द सुनार र संकटास्थित मनु जेम्स एण्ड ज्वेलर्सका सञ्चालक दिपेश रसाइली लुटिएको सुन किन्ने व्यक्ति भएको प्रहरीले जनाएको छ।
उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो। प्रहरी अनुसन्धान अनुसार, यो समूहले असोजदेखि एक महिनाको अवधिमा मात्र सात पटक सुनको सिक्री थुतेर लुटपाट गरेको छ।
लुटपाटका घटनाहरू
८ असोज – नख्खुडोलमा सबिता मगरको डेढ तोलाको सिक्री
नागार्जुन सिंगल ट्री – हिरा लामाको १ तोला १५ लालको सिक्री
२६ असोज – ललितपुर बुद्धचोकमा भिमा गुरुङको ३ तोलाको सिक्री
१ कात्तिक – नागार्जुनमा आरुसी जोशीको झोला लुटपाट
गुँरास टोल (नागार्जुन) – बिष्णुमाया नामकी महिलाको १ तोला २५ ग्रामको सिक्री
रानिवन, राधाकृष्ण मन्दिरनजिक – बुद्धिमान घिमिरेको १ तोलाको सिक्री
नेपालटार – बिमाया गुरुङको २ तोलाको सिक्री
प्रहरीले पक्राउ परेकाबाट लुटपाटमा प्रयोग भएका कपडा, ७० भन्दा बढी सिमकार्ड, मोबाइल, चोरीका क्रममा प्रयोग गरिएका ४ मोटरसाइकल, र अन्य सामग्री बरामद गरेको छ।
त्यस्तै, दिलबहादुरबाट रु. ३ लाख ८८ हजार, गोविन्द सुनारबाट ७ तोला ४४ लाल सुन र रु. १ लाख ६६ हजार नगद पनि बरामद भएको छ।
प्रहरीका अनुसार, पक्राउ परेकाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट चोरी तथा लुटपाट सम्बन्धी कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ ।
























