धादिङ । धादिङको गल्छी गाउँपालिका–७ भल्टारस्थित पृथ्वी लोकमार्गमा आज बिहान बस र टिपर एक आपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालका अनुसार बिहान करिब ९ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लु प्र ०१–००१ ख ०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ८ ख २५९१ नम्बरको टिपर एक आपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि घाइते भएका यात्रुहरूको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पठाइएको डीएसपी दाहालले जानकारी दिए। उनका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम खालको छ भने गम्भीर कोही पनि छैन।
बसको अगाडिको भागमा क्षति पुगेको र दुर्घटनापछि बस तथा टिपर दुबैलाई सडकबाट हटाएर यातायात पुनः सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
























