काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले आइतबार पार्टी छाडेकी छिन् ।
आफूले पार्टीलाई गल्ती सुधार गर्न पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि पार्टी परित्याग गर्न बाध्य भएको श्रेष्ठले बताएकी छिन् ।
पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले कुनै नेताको नाम नलिए पनि पार्टी सभापति रवि लामिछाने, कावा अध्यक्ष डिपी अर्याललगायतलाई इंगित गर्दै पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको आरोप लगाएकी छिन् ।
उनले भनेकी छिन् ‘कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ । मेरो प्रयासले उनीहरुलाई कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’
समानुपातिकबाट सांसद बनेकी सुमना प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री भएकी थिइन् । सांसद भएकोले पार्टीको काम गर्न समय नपुगेको भन्दै उनले पार्टीको सह–महामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।
श्रेष्ठले कांग्रेस–एमालेलगायत पार्टीका तेस्रो पुस्ताका नेतालाई पनि आफूले जस्तै विचार गर्न सुझाव दिएकी छन् ।

























