काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–९ बथानचौडी नजिकै मदनभण्डारी राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा सोही स्थानका ४६ वर्षीय भुवन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनामा परी ६४ वर्षीय टेकप्रसाद दाहाल गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि तत्कालै शुभ स्वस्तिक अस्पताल, बर्दिबास लगिएको छ।
प्रहरीका अनुसार ट्रक अनियन्त्रित भई पैदल यात्रीहरूलाई ठक्कर दिँएपछि सडक किनारमा पल्टिएको थियो। ट्रक पल्टिँदा एक घरमा क्षति पुगेको छ भने त्यस घरमा रहेका करिब २० वटा कुखुरा मरेका छन्।
घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक टंकबहादुर कार्कीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























