काठमाडौं । नेपाल शिक्षक महासंघले आज नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।
शिक्षा विधेयकसम्बन्धी मागहरूलाई लिएर पहिलो चरणको आन्दोलन अन्तर्गत आयोजित यो धर्ना कार्यक्रम दिउँसो २ बजेसम्म चल्नेछ। धर्नाका क्रममा महासंघले कांग्रेसलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयमा र शुक्रबार माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयमा पनि धर्ना दिने कार्यक्रम तय गरिएको छ।
महासंघले २०७५, २०७८, २०८० र २०८१–८२ सालमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै आएको छ। साथै, २०८२ साल वैशाख १७ गते मन्त्रिपरिषद्ले पारित गरेका ९ बुँदे निर्णयहरू पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै ती बुँदाहरू तत्काल कार्यान्वयनमा ल्याउन माग गरिएको छ।
महासंघले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयक अघिल्ला सहमतिअनुसार नभएको ठहर गर्दै विधेयक संशोधनको माग गरिरहेको छ।
मुख्य मागहरू यसप्रकार छन्:
- अस्थायी शिक्षकको स्थायिकीकरण प्रक्रिया : ७५% आन्तरिक प्रतिस्पर्धा र २५% खुला प्रतिस्पर्धा हुनुपर्ने।
- स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध विधेयकमा नसमेटिएको।
- अस्थायी अवधिको गणना र म्याद सकिएको अध्यापन अनुमति पत्रको नवीकरणको व्यवस्था नहुँदा आपत्ति।
- विभागीय कारबाहीसम्बन्धी व्यवस्था पूर्वसहमति अनुसार नभएको।
- विद्यालय कर्मचारीको पद, तलब तथा सेवा सुविधा सुनिश्चित नभएको।
- बालकक्षा शिक्षकको पद र सेवा सुविधा स्पष्ट नभएको।
- संस्थागत विद्यालयका शिक्षकहरूका लागि अव्यवहारिक सरुवा प्रणाली।
- शिक्षक दरबन्दीलाई स्थानीय तहमा हस्तान्तरण गर्ने प्रस्तावप्रति विरोध।
- शिक्षण काउन्सिलको व्यवस्था स्पष्ट नभएको र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व सुनिश्चित नभएको।
महासंघले यी सबै विषय अघिल्ला सहमति अनुसार विधेयकमा समेट्न माग गर्दै आएको छ। सरकारले शिक्षा विधेयक संशोधन गरी प्रतिनिधिसभामा पेस गर्नुपर्नेमा जोड दिँदै महासंघले आफ्ना आन्दोलनलाई चरणबद्ध रूपमा तीव्र बनाउने चेतावनी समेत दिएको छ।

























