काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा सार्न लागिएको छ।
उनलाई शनिबार दिउँसो कारागारबाट बाहिर निकालेर हवाई मार्ग हुँदै काठमाडौं ल्याइँदैछ।
लामिछानेलाई कडा सुरक्षाबीच भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ। उनलाई कारागारबाट बाहिर निकाल्ने क्रममा परिसर बाहिर रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति थियो।
लामिछानेले करिब ४० दिनअघि नै कारागार सरुवाका लागि रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए। अदालतले अनुमति दिए पनि गृह प्रशासनले सरुवाको प्रक्रिया अघि बढाएको थिएन।
पछिल्लो समय मानव अधिकार आयोगको टोलीसँग आफूलाई भैरहवामा असुरक्षित महसुस भएको बताएपछि सरकारमाथि उनलाई स्थानान्तरण गर्न दबाब बढेको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने गत चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्।

























