काठमाडौं, साउन २९ । पशुपति आर्यघाटमा जलाइरहेको शवको हड्डी किन्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का रामनन्दन ठाकुर (४२), जो हाल कपनमा बसोबास गर्दै आएका छन्, र सप्तरीको बलानविहुल गाउँपालिका–६ का मिश्रीलाल यादव (४१), जो गौरीघाटमा बस्दै आएका छन्, रहेका छन्।
प्रहरीका अनुसार बिहीबार पक्राउ परेका ठाकुरको साथबाट मानव हड्डी र खरानीको धुलो बरामद गरिएको छ।
यस घटनासँग सम्बन्धित गरी यसअघि साउन २३ गते आर्यघाटको चिता नं. २ मा जलाइरहेको शवबाट हड्डी निकालेर ५ सय रुपैयाँमा बिक्री गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको थियो। त्यही अनुसन्धानको क्रममा हड्डी किन्ने थप दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ प्रहरी परिसरका प्रवक्त्ता एसपी अपीलराज बोहराले दिएको जानकारी अनुसार, पक्राउ परेका व्यक्तिहरूले बनेपाका ६५ वर्षीय राम शाहीको शव जलाउने क्रममा हड्डी निकाली बिक्री गरेका थिए।
यसअघि पक्राउ परेकाहरूमा काभ्रेको मण्डनदेउपुर–५ घर भई हाल गौरीघाटमा बस्दै आएका जीवनाथ ढकाल (गणेशप्रसाद ढकाल) र उदयपुरको कटारी नगरपालिका–८ घर भई गोठाटारमा बस्ने २४ वर्षीय विनायक मैनाली रहेका छन्।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूले शवको हड्डी पाँच सय रुपैयाँमा बेचेको स्वीकार गरिसकेको पनि प्रहरी स्रोतले जानकारी दिएको छ।
























