हेटौंडा, साउन १३ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटिए पनि मुख्यमन्त्री पद नछोड्ने अडान दोहोर्याएका छन् ।
मंगलबार भएको दलको मत विभाजनमा आफ्नो पक्षमा १५ मत मात्रै परेपछि दलको नेताबाट हटिएका लामाले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री हुन संसदीय दलको नेता हुनु आवश्यक नरहेको जिकिर गरे।
“सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो,” उनले भने, “मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै संवैधानिक या राजनीतिक आधार छैन। कोलेसन सरकारमा दलको नेता हुनु आवश्यक हुँदैन।”
लामाले आफूविरुद्ध पार्टीभित्रै षड्यन्त्र रचिएको दाबीसमेत गरेका छन्। सबैलाई मिलाएर लैजाने प्रयास गर्दा पनि भित्रभित्रै जाल बुनेको थाहा पाएको उनको भनाइ छ।
“मैले यस्तो प्रपञ्च कांग्रेसभित्र देखेको थिइनँ,” उनले भने, “मेरै मन्त्रीहरू पनि त्यो जालोभित्र परेका रहेछन्। बाह्य दबाब पनि परेको देखिन्छ। लोकतान्त्रिक विधिमा अघि बढ्नुपर्ने हो।”
संसदीय दलमा इन्द्रबहादुर बानियाँ पक्षले लामाविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पारित भएपछि बानियाँको पक्षमा २२ र लामाको पक्षमा १५ मत परेको थियो।
तर लामाले मुख्यमन्त्री पदबाट हट्नुपर्ने अवस्था नआएको दोहोर्याउँदै भने, “म गठबन्धनको मुख्यमन्त्री हुँ, पूर्ण बहुमतको सरकार होइन। त्यसैले राजीनामा दिनुपर्ने संवैधानिक बाध्यता छैन।”
























